नियम २८
परिचालक अनुमतिपत्रको नवीकरण
(१) परिचालकले ऐनको दफा ६८ बमोजिम अनुमतिपत्रको नवीकरणको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित कुनै कार्यालयमा अनुसूची–२८ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा अनुसूची–२६ बमोजिमको ढाँचामा दरखास्तवालाको निरोगीताको प्रमाणपत्र समेत संलग्न गर्नुपर्नेछ ।
(३) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी परिचालक अनुमतिपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही परिचालक अनुमतिपत्र नवीकरण गरी सोको व्यहोरा अनुसूची–२९ बमोजिमको परिचालक अनुमतिपत्र नवीकरण किताबमा जनाउनु पर्नेछ ।
(४) एउटा कार्यालयबाट दिएको परिचालक अनुमतिपत्र उपनियम (३) बमोजिम अर्को कार्यालयबाट नवीकरण गरिएकोमा नवीकरण गर्ने कार्यालयले यथासक्य छिटो सो कुराको जानकारी त्यस्तो परिचालक अनुमतिपत्र दिने कार्यालयलाई दिनु पर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा परिचालक अनुमतिपत्र जारी गर्ने कार्यालयले पनि त्यस्तो परिचालक अनुमतिपत्र नवीकरण भएको व्यहोरा अनुसूची–३० बमोजिमको दर्ता किताबमा जनाउनु पर्नेछ ।